काठमाडौं, वैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन् । पार्टीको प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढंगले क्रियाशील हुन आग्रह गरे ।
उपनेता पराजुलीले राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उक्त अपेक्षा र पार्टीप्रतिको विश्वासलाई परिणाममा बदल्नुपर्नेमा जोड दिए ।
पराजुलीले प्रशिक्षणबाट हासिल हुने अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले संसद र संसदीय समितिको भूमिका, पार्टी–संसद र सरकारबीचको समन्वय, संसदीय मर्यादा र आचरण, तथ्यमा आधारित बहस, जनउत्तरदायी राजनीतिक व्यवहार तथा प्रभावकारी नेतृत्व विकासजस्ता विषयमा प्रशिक्षण केन्द्रित रहने बताए ।
‘आजको राजनीति केवल नाराले चल्दैन । क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ । जनताले अब कसले के भन्योभन्दा पनि कसले के गर्यो भन्ने आधारमा मूल्यांकन गर्न थालेका छन्’, उनले भने, ‘रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको छ । त्यसैले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसदकाे आवश्यकता छ ।’
उनले प्रशिक्षणलाई औपचारिक कार्यक्रम मात्र नभई सिकाइ, आत्ममूल्यांकन, अनुभव आदानप्रदान तथा भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गरे ।
उद्घाटन समारोहपछि उपसभापति एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बन्द सत्रमा सांसदहरूलाई प्रशिक्षण दिएका थिए । यसैगरी महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वय तथा उपनेता पराजुलीले संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिए ।




प्रतिक्रिया