अर्घाखाँची । शितगंगा नगरपालिकाले सामाजिक सञ्जालमार्फत नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध सार्वजनिक गरिएका आरोपहरूलाई निराधार, भ्रामक र एकपक्षीय भएको जनाएको छ ।
मिति २०८३ वैशाख २५ गते जारी प्रेस विज्ञप्तिमार्फत नगरपालिकाले एम्बुलेन्स खरिद, ग्याँस सिलिण्डर प्रयोग तथा कोठा भाडासम्बन्धी विषयमा स्पष्ट विवरण सार्वजनिक गर्दै तथ्यहीन प्रचारप्रति आपत्ति जनाएको हो ।
नगरपालिकाका अनुसार देउराली आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि खरिद गरिएको एम्बुलेन्स रोटरी क्लब अफ बुटवल चौतारीसँगको लागत साझेदारी कार्यक्रमअन्तर्गत ल्याइएको हो । उक्त सहमतिअनुसार कुल लागतको ७५ प्रतिशत रकम रोटरी क्लबले तथा २५ प्रतिशत रकम सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ । सोहीअनुसार नगरपालिकाले स्वास्थ्य संस्थाको खातामा रु। ५ लाख २ हजार २५ रुपैयाँ उपलब्ध गराउनुका साथै डेकोरेशन लगायतका अन्य खर्चसमेत गरी कुल रु। ६ लाख रकम नियमानुसार भुक्तानी गरिएको स्पष्ट पारेको छ । यस प्रक्रियामा कुनै प्रकारको अनियमितता नभएको नगरपालिकाको दाबी छ ।
त्यसैगरी, नगर उपप्रमुखसँग जोडेर सार्वजनिक गरिएको “१८ वटा ग्याँस सिलिण्डर” सम्बन्धी विषयमा पनि नगरपालिकाले वास्तविकता सार्वजनिक गरेको छ । विज्ञप्तिअनुसार ती ग्याँस सिलिण्डर कुनै एक व्यक्तिको निजी प्रयोगका लागि नभई विभिन्न कार्यालय तथा संस्थागत प्रयोजनमा प्रयोग गरिएको हो । स्वास्थ्य संस्था, प्रमुख प्रशासकीय अधिकृतको निवास, कार्यालय स्टोर, न्यायिक समितिको सचिवालय तथा निर्वाचन सुरक्षामा खटिएको टोलीका लागि आवश्यकताअनुसार ग्याँस रिफिल तथा नयाँ सिलिण्डर खरिद गरिएको नगरपालिकाले जनाएको छ ।
२०८१ चैतदेखि २०८२ चैतसम्मको अवधिमा कर्मचारीहरू सुदन अधिकारी, हेमकान्त बेल्वासे, अर्जुन थापा लगायतमार्फत गरिएको खरिद तथा प्रयोगको अभिलेखसमेत नगरपालिकाले प्रस्तुत गरेको छ ।
त्यस्तै कोठा भाडासम्बन्धी विषयमा पनि नगरपालिकाले स्पष्टोक्ति दिएको छ । कार्यालय प्रयोजनका लागि टोपलाल पाण्डेको घरमा भाडामा लिइएका ६ वटा कोठामध्ये ३ वटा कोठा नगर उपप्रमुखको कार्यकक्षका रूपमा प्रयोग भइरहेको तथा बाँकी कोठाहरू कार्यालय स्टोर र न्यायिक समितिको सचिवालयका लागि उपयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नप्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।






प्रतिक्रिया