पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस


काठमाडौं । पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने भएकाे छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेका चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ। सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको जनाइएको छ ।

लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।