जनताको धैर्यको बाँध टुट्नुअघि सरकार सच्चियोस्ः राजेन्द्र महतो


काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सरकारको कार्यशैली र दिशाहीनताले जनतामा निराशा बढाएको भन्दै उनले जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकारलाई सच्चिन चेतावनी दिएका हुन्।

एक सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलतालाई लत्याएर पुरानै निरङ्कुश सोच र कार्यशैलीलाई निरन्तरता दिएको आरोप लगाए। उनले सरकारको असंवेदनशील व्यवहार, नियुक्तिहरूमा देखिएको समावेशिताको उपेक्षा र अधिनायकवादी चरित्रलाई तत्काल सच्याउन आग्रह गरेका छन्।

महतोका अनुसार हालैको जनादेश सत्ता र सरकार परिवर्तनका लागि मात्र नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र आमूल परिवर्तनको चाहनाको अभिव्यक्ति थियो। ‘सय दिनमै सबै अपेक्षा पूरा हुन सक्दैनन्, त्यो हामी बुझ्छौँ,’ वक्तव्यमा भनिएको छ, ‘तर सरकारको कार्यदिशामा कुनै नयाँपन देखिनुको साटो उल्टै पुरानै निरंकुशताको गन्ध आउन थालेको छ।’

उनले गरिब बस्तीहरूमा डोजर चलाउने, सीमावर्ती क्षेत्रका सर्वसाधारणमाथि कठोर व्यवहार गर्ने र समानुपातिक समावेशिताको मर्मलाई कुल्चिएर मेरिटोक्रेसीको आवरणमा विभेदलाई संस्थागत गर्ने प्रयास भइरहेको दाबी गरे। बजेटले बिचौलिया पुँजीवादलाई प्रश्रय दिएको टिप्पणी गर्दै महतोले किसान, युवा, महिला र प्रदेशका हितलाई पूर्णरूपमा बेवास्ता गरिएको तथा शिक्षा–स्वास्थ्यजस्ता मौलिक अधिकारमा समेत कर लगाउने नीति ल्याएर सरकार जनविरोधी कित्तामा उभिएको आरोप लगाए।