काठमाडौं । अटोमोबाइल तथा व्यापार क्षेत्रमा स्थापित एमएडब्लु समूहले आफूविरुद्ध उठाइएका भन्सार छली, भ्याट छली र कर छलीसम्बन्धी आरोपहरूलाई “भ्रामक, प्रमाणहीन र नियोजित प्रचार” भएको दाबी गरिएको छ । समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको उजुरीलाई आधार बनाएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीप्रति गम्भीर आपत्ति जनाएको हो ।
एमएडब्लु समूहले आरोपहरू कुनै ठोस तथ्य, कानुनी आधार वा प्रमाणबिना फैलाइएको उल्लेख गर्दै यसले कम्पनीको प्रतिष्ठा, व्यापारिक विश्वसनीयता तथा समग्र व्यवसायमा नकारात्मक असर पुर्याउने उद्देश्य बोकेको बताइएको छ ।
समूहका अनुसार आफूविरुद्ध उठाइएको “भन्सार छली” को विषय वास्तविक फौजदारी मुद्दा नभई प्रशासनिक प्रकृतिको बेरुजुसँग सम्बन्धित विषय मात्र रहेको जनाएको छ । कम्पनीले भन्सार कार्यालयको पत्रलाई तोडमोड गरेर “भन्सार छली” को रूपमा प्रचार गरिएको भन्दै त्यसलाई गलत व्याख्या गरेको बताइएको छ ।
समूहले दिएको स्पष्टीकरणमा आर्थिक वर्ष २०७९/०८० मा आयात गरिएका केही सवारीसाधनमा लागू भएको महसुल दरअनुसार नै कर तिरिएको उल्लेख गरिएको छ। पछि आर्थिक वर्ष २०८०/०८१ मा महसुल दर परिवर्तन भएपछि कम्पनीले संशोधित दरअनुसार थप महसुलसमेत बुझाएर प्रक्रिया पूरा गरेको दाबी गरिएको छ। कम्पनीका अनुसार १५ सिट क्षमताका गाडीमा १० प्रतिशत तथा ११ देखि १४ सिट क्षमताका गाडीमा १ प्रतिशत महसुल कानुनअनुसार बुझाइएको थियो।
यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जनाउँदै एमएडब्लुले भन्सार कार्यालयले बेरुजु रकम दाखिला गर्न पत्राचार गरेपछि आफूहरू अदालत गएको र अदालतबाट तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको जनाएको छ। मुद्दा अहिले पूर्ण सुनुवाइको प्रक्रियामा रहेको भन्दै विचाराधीन विषयमा फौजदारी आरोप लगाइनु न्यायिक प्रक्रियामाथिको प्रत्यक्ष हस्तक्षेप हुने कम्पनीको भनाइ छ।
त्यस्तै, मोरङ अटो वर्क्ससँग जोडिएको भ्याट छलीको आरोपसमेत निराधार रहेको समूहले जनाएको छ। कम्पनीका अनुसार आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको सम्पूर्ण कर, ब्याज र जरिवाना तिरेर कर दायित्व फर्छ्योट गरिसकिएको छ र हाल कुनै बक्यौता बाँकी छैन। “कम्पनी बन्द भइसकेको” भन्ने दाबी पनि गलत रहेको उल्लेख गर्दै मोरङ अटो वर्क्स अझै सञ्चालनमै रहेको स्पष्ट पारिएको छ।
समूहका सबै कम्पनी नेपाल सरकारका सम्बन्धित नियामक निकायको दायराभित्र रहेर सञ्चालन भइरहेको तथा समयमै भ्याट, आयकरलगायत सम्पूर्ण कर दायित्व निर्वाह गर्दै आएको स्पष्टीकरणमा उल्लेख छ।
समूहले आफू नेपालका सबैभन्दा बढी कर तिर्ने व्यावसायिक समूहहरूमध्ये एक रहेको दाबी पनि गरेको छ। आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा लगातार दुई वर्ष व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीका रूपमा एमएडब्लु हायर पर्चेज प्रालिले आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट सम्मान प्राप्त गरेको जानकारी दिइएको छ।
पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एमएडब्लु समूहसँग सम्बन्धित कर तथा भन्सार विवादबारे विभिन्न समाचारहरु बाहिरिएको थियो ।




प्रतिक्रिया