भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु 


बाजुरा ।  जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । 

आज दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए । थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी हुन् । रासस