अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रदीप अधिकारीसहित तीनविरुद्ध मुद्दा


काठमाडौं, वैशाख २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जना विरुद्ध मुद्दा दायर भएको छ ।

अधिकारीको निर्देशन र मिलेमतोमा प्रमुख आयुक्त राईलाई ’ईजीएन’ नामक आतङ्ककारी सङ्गठनको नाम लिई राजीनामा नदिए ज्यान लिने धम्की दिएको काठमाडौँ जिल्ला प्रहरी परिसरको अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा अधिकारीका साथै काभ्रेका ३४ वर्षीय प्रकाश पाठक र झापाका ५६ वर्षीय तारा प्रसाद खरेललाई प्रतिवादी बनाइएको परिसरले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरूले ह्वाट्सएप नम्बर र भिडियो सन्देश मार्फत प्रमुख आयुक्तलाई राजीनामा दिन दबाब दिँदै आपराधिक लाभ (एक्सटर्सन) का लागि डर त्रास देखाएको खुलेको छ ।

काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा प्रतिवादीहरू विरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान मार्ने उद्योगको आपराधिक षड्यन्त्र, आपराधिक लाभ लिन नहुने र हुण्डी सम्बन्धी कारोबार गरेको कसुरमा सजायको मागदाबी गरिएको छ।

यसैगरी, उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन २०६३ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गतका गम्भीर कसुरहरूमा समेत कारबाही गर्न प्रहरीले माग गरेको छ । अनुसन्धानले यो समूहले सङ्गठित रूपमै आपराधिक योजना बुनेको देखाएको भन्दै एकीकृत कसुर बापत थप सजायको समेत मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ।