मस्को, ३० वैशाख । रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सरमत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीको सफल परीक्षणको प्रशंसा गरेका छन् । उनले यसलाई ‘विश्वको सबैभन्दा शक्तिशाली मिसाइल प्रणाली’ भन्दै रूसको दीर्घकालीन सुरक्षा रणनीतिको प्रमुख आधारका रूपमा प्रस्तुत गरे ।
रुसी रणनीतिक मिसाइल बलका कमान्डर सर्गेई कराकायेभसँग भिडियो कन्फरेन्समार्फत रिपोर्ट प्राप्त गरेपछि राष्ट्रपति पुटिनले परियोजनामा संलग्न सैनिक, वैज्ञानिक, इन्जिनियर तथा रक्षा उद्योगका कर्मचारीहरूलाई बधाई दिए ।
पुटिनका अनुसार रुसले सन् २००० को दशकको सुरुआतदेखि नै आफ्नो प्रतिरोध क्षमता मजबुत बनाउने कार्यक्रम पुनः सुरु गरेको थियो र सन् २००२ मा संयुक्त राज्य अमेरिकाले एन्टी–ब्यालेस्टिक मिसाइल सन्धिबाट बाहिरिएपछि यो प्रक्रिया अझ तीव्र बनेको थियो । उनले त्यसपछि रुसले विश्वमै अद्वितीय मानिने उन्नत हतियार प्रणाली विकास गर्न थालेको बताए ।
सरमत प्रणालीलाई पूर्व सोभियत सङ्घको भोयेभोडा मिसाइलसँग तुलना गर्दै पुटिनले यो प्रणाली अझ उन्नत र शक्तिशाली भएको दाबी गरे । उनका अनुसार यसको पेलोड क्षमता पश्चिमी समकक्षहरूभन्दा करिब चार गुणा बढी छ ।
पुटिनले सरमत मिसाइलले ब्यालेस्टिक मात्र नभई सब–अर्बिटल मार्ग प्रयोग गर्न सक्ने भएकाले यसको सञ्चालन दायरा ३५ हजार किलोमिटरभन्दा बढी पुग्ने बताए । उनले यस क्षमताले मिसाइललाई कुनै पनि वर्तमान वा भविष्यका मिसाइल प्रतिरक्षा प्रणालीलाई पार गर्न सक्षम बनाउने दाबी गरे ।
राष्ट्रपति पुटिनले यस वर्षको अन्त्यसम्ममा सरमत मिसाइल प्रणालीलाई पूर्ण रूपमा युद्ध कर्तव्यमा राखिने घोषणा गरे ।
उनले रुसले पछिल्ला वर्षहरूमा विकास गरेका अन्य रणनीतिक हतियार प्रणालीहरूको पनि उल्लेख गरे, जसमा एभानगार्ड हाइपरसोनिक मिसाइल प्रणाली, किन्झाल हाइपरसोनिक मिसाइल, ओरेस्निक मध्यम दूरीको मिसाइल प्रणाली तथा पोसाइडन मानवरहित समुद्री प्रणाली समावेश छन् ।
साथै, सानो आणविक शक्ति प्रणालीद्वारा सञ्चालित ब्युरेभेस्टनिक ग्लोबल–रेन्ज क्रुज मिसाइलको विकास अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।
पुटिनले रक्षा मन्त्रालय, सैनिक संरचना, वैज्ञानिक तथा इन्जिनियर समुदाय र रक्षा उद्योगसँग सम्बन्धित सबै पक्षलाई यो उपलब्धिका लागि धन्यवाद व्यक्त गरे ।
सरमत मिसाइल कार्यक्रम पहिलो पटक सन् २०१८ मा रूसले आफ्नो नयाँ पुस्ताको रणनीतिक हतियार योजनाअन्तर्गत सार्वजनिक गरेको थियो । त्यसयता यो प्रणालीलाई रूसको दीर्घकालीन सैन्य क्षमता विस्तारको महत्त्वपूर्ण हिस्सा मानिँदै आएको छ । रासस




प्रतिक्रिया