काठमाडौं, वैशाख ३१ । बैतडीमा विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेर जुताको माला लगाई सार्वजनिक रूपमा बेइज्जत गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताको परिवार धरौटीमा रिहा भएको छ ।
शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रेमसिंह महता, उनकी श्रीमती तारा महता, भाइ मोहन महता र भाइबुहारी शकुन्तला महता ५/५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहका अनुसार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई बुधबार धरौटीमा छाडेको हो ।
प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएर सार्वजनिक रूपमा बेइज्जत गरेको घटना सार्वजनिक भएपछि प्रहरीले २५ वैशाखमा महता परिवारलाई पक्राउ गरेको थियो । ओझाले उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए ।
प्राप्त विवरणअनुसार प्रेमसिंह महता रास्वपाको शिवनाथ गाउँपालिका कमिटीका उपसभापति हुन् । महताले सामाजिक सञ्जालमा राखेका विवरणले पनि उक्त जिम्मेवारी पुष्टि गर्ने भए पनि रास्वपाले विज्ञप्ति जारी गर्दै उनी पार्टीको कुनै जिम्मेवारीमा नरहेको दाबी गरेको छ ।
पिपलकोट माध्यमिक विद्यालयमा शिक्षक भर्नाका लागि तारा महताले परीक्षा दिएकी थिइन् । उनलाई जागिर दिलाउन प्रधानाध्यापकमाथि दबाब दिइएको आरोप छ । तर पहिलो परीक्षामै उनी असफल भएपछि आक्रोशित बनेको महता परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएर सार्वजनिक रूपमा बेइज्जत गरेको बताइएको छ ।
उनीहरूले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ लेखिएको पम्प्लेट समेत झुण्ड्याएका थिए । घटनाका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।




प्रतिक्रिया