विपक्षी दलद्वारा अध्यादेश अस्वीकृतको सूचना दर्ता


काठमाडौं, वैशाख ३१ । पक्षी दलहरू कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संघीय संसद् सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन् । एमालेले ८ वटै अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ ।

यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ । यस्तै नेकपाले केही नेपाल ऐन, संवैधानिक परिषद्, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेश अस्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

यसअघि संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । यी अध्यादेशहरू संघीय संसद्अन्तर्गतको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस भइसकेका छन् । संघीय संसद्का कुनै एक सदनले मात्रै विपक्षीको प्रस्ताव पारित गरे अध्यादेश त्यहीँबाट निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।