एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी-जीनपिङसँगको बेइजिङमा भेट भए लगतै ताइनवान विरुद्ध कडा अभिव्यक्ति दिएका छन्। सीसँगको दुईदिने शिखर वार्तापछि ताइवानलाई औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न ट्रम्पले चेतावनी दिए।
शुक्रबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘म कसैले स्वतन्त्रता घोषणा गरेको देख्न चाहन्नँ।’ ताइवानका राष्ट्रपति लाइ चिङ-ते ले यसअघि ताइवानले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नभएको बताएका थिए, किनकि ताइवानले आफूलाई पहिले नै सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेको उनको बुझाइ थियो।
अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको र कानुनअनुसार उसलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउने दायित्व पनि राख्ने गर्दछ। तर चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै ताइवानप्रतिको समर्थनलाई सन्तुलनमा राख्न अमेरिकालाई सधैं चुनौती रहँदै आएको छ।
ट्रम्पले यसअघि ताइवानबारे ‘मैले कुनै पक्षमा प्रतिबद्धता जनाएको छैन’ भनेका थिए। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने चेतावनी पनि दिँदै आएको छ।
वाशिङ्टनको पुरानो नीति भनेको ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने हो। चीनसँगको सम्बन्ध पनि ‘एक मात्र चिनियाँ सरकार’ अर्थात एक चीन नीतीमा आधारित छ।
बेइजिङले ताइवानका राष्ट्रपति लाइ चिङ-तेप्रति असन्तुष्टि जनाउँदै उनलाई समस्या निम्त्याउने व्यक्तिका रुपमा चित्रित गरेको छ। साथै उनलाई दुई किनारबीचको शान्ति भंग गर्ने भन्दै आलोचना पनि गर्दै आएको छ।
धेरै ताइवानी नागरिक आफूलाई छुट्टै राष्ट्रको हिस्सा मान्छन्। तर अधिकांशले अहिलेको अवस्थालाई नै कायम राख्न चाहन्छन्, जहाँ ताइवानले न चीनबाट स्वतन्त्रता घोषणा गरेको छ, न चीनसँग एकीकरण भएको छ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाको नीति परिवर्तन नभएको दोहोर्याए। उनले भने, ‘हामी ९,५०० माइल टाढा गएर युद्ध लड्न चाहँदैनौँ। म तनाव कम होस् भन्ने चाहन्छु। चीन पनि शान्त होस् भन्ने चाहन्छु।’
वाशिङ्टन फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र सी-बीच ताइवानबारे धेरै छलफल भएको बताए। तर अमेरिकाले ताइवानको रक्षा गर्छ कि गर्दैन भन्ने विषयमा आफूले टिप्पणी गर्न अस्वीकार गरेको उनले बताए।
ट्रम्पका अनुसार सी जिनपिङ ताइवानको विषयमा निकै संवेदनशील छन् र ‘स्वतन्त्रताको आन्दोलन देख्न चाहँदैनन्।’ चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सीले भने, ‘ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण विषय हो। यदि यसलाई गलत तरिकाले सम्हालियो भने दुई देशबीचको द्वन्द्ध हुन सक्छ।’
ताइवानका कारण चीनसँग द्वन्द्व हुनसक्छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई त्यस्तो लाग्दैन। सबै ठीक हुन्छ। सी युद्ध चाहँदैनन्।’ हालका वर्षहरूमा चीनले ताइवान वरिपरि सैन्य अभ्यास तीव्र बनाएको छ, जसले क्षेत्रीय तनाव बढाएको छ र अमेरिकाले कायम राखेको सन्तुलनलाई चुनौती दिएको छ।




प्रतिक्रिया