अर्घाखाँची l अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, काहुले विसौनालाई जन्मथलो बनाइ हाल बुटवल-९, मिलनचोकमा बसोबास गर्दै आएका रामप्रसाद पाण्डे, शर्मिला पाण्डे तथा परिवारले आफ्ना बुबा-आमा र हजुरबुबा-हजुरआमाको स्मृतिमा “शिवकला-गुणानीधि जेहेन्दार अक्षयकोष २०८३” स्थापना गरेका छन् ।
आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सरस्वती माध्यमिक विद्यालय, काहुले भुस्कातमा स्थापना गरिएको उक्त अक्षयकोषलाई ग्रामीण शिक्षामा प्रेरणादायी सामाजिक योगदानका रूपमा हेरिएको छ l पाण्डे परिवारले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कोषबाट प्राप्त हुने ब्याज रकम प्रत्येक वर्ष विद्यालयका एक जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका रूपमा प्रदान गरिने जनाइएको छ ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषका संस्थापक रामप्रसाद पाण्डे र शर्मिला पाण्डेको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थापक रामप्रसाद पाण्डेले विकट भौगोलिक क्षेत्रमा रहेका विद्यार्थीलाई अध्ययनतर्फ प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफ्ना बुबा-आमाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको बताए । आफूले पनि सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै उनले जन्मथलोप्रति केही सामाजिक योगदान गर्ने भावनाले यो अभियान अघि बढाइएको उल्लेख गरे । संस्थापक शर्मिला पाण्डेले ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीलाई शिक्षामा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिवारको तर्फबाट अक्षयकोष स्थापना गरिएको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पाण्डेले पहाडी क्षेत्रबाट बसाइँसराइ बढ्दै जाँदा गाउँका विद्यालयमा विद्यार्थी टिकाइराख्न चुनौती थपिएको अवस्थामा यस्ता अक्षयकोषले विद्यालयलाई ठूलो हौसला र प्रेरणा मिल्ने बताए । प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले अक्षयकोषले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पाण्डे परिवारप्रति धन्यवाद तथा आभार प्रकट गरे ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले यस्ता पवित्र उद्देश्यले स्थापित अक्षयकोषले समाजमा अन्य व्यक्तिलाई पनि सामाजिक योगदानका कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । पत्रकार छविलाल पाण्डेले गाउँमै जीवन बिताएका हजुरबुबा-हजुरआमाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई समाजसेवा र सकारात्मक कार्यतर्फ प्रेरित गर्ने सन्देश दिएको बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




प्रतिक्रिया