नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस रुपन्देहीकी उपसभापति डा. शाहले दिइन् राजीनामा


बुटवल l नेपाली कांग्रेस रुपन्देहीकी उपसभापति डा. अनिता शाह ढुङ्गानाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो पदबाट राजीनामा दिएकी छन् । पदीय गरिमा र जिम्मेवारीमाथि हस्तक्षेप गरिएको तथा स्वतन्त्र रूपमा काम गर्ने वातावरण नदिइएको आरोप लगाउँदै उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् ।

रुपन्देही कांग्रेसमा बौद्धिक, निष्ठावान् र सक्रिय महिला नेतृका रूपमा परिचित डा. शाहको यो निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । राजीनामाअघि उनले सामाजिक सञ्जालमार्फत समेत असन्तुष्टि संकेत गरेकी थिइन्b।

बिहीबार फेसबुकमा उनले “कुनै पनि नदीले आफ्नो मुहान बिर्सियो भने के हुन्छ?” भन्ने स्टाटस लेखेकी थिइन् भने शुक्रबार “आजदेखि धेरैलाई मार्ग प्रशस्त गर्ने निर्णय गरियो” भन्दै आफ्नो कदम सार्वजनिक गरेकी हुन् ।

राजीनामापछि मिसन लुम्बिनीसँगको कुराकानिमा नेतृ शाहले नेतृत्वको एकाधिकारवादी प्रवृत्तिका कारण आफूले यस्तो निर्णय लिनुपरेको बताइन् । “आफूलाई दिइएको जिम्मेवारीमै अङ्कुश लगाइन्छ भने त्यहाँ अपहेलित भएर बसिरहनुको कुनै अर्थ रहँदैन । नेतृत्वलाई आफ्नै ढङ्गले ‘मोनोपोली’ चलाउन सहज होस् भनेर मैले बाटो खुला गरिदिएकी हुँ,” उनले भनिन् ।

लामो समयदेखि पार्टी संगठन निर्माण, महिला नेतृत्व विकास तथा कांग्रेसको जनाधार सुदृढ बनाउन सक्रिय रहँदै आएकी डा. शाहको राजीनामाले रुपन्देही कांग्रेसभित्र नेतृत्वशैली, आन्तरिक लोकतन्त्र र संगठन सञ्चालनको पद्धतिबारे नयाँ बहस सुरु गरेको छ । उनको कदमलाई राजनीतिमा पदभन्दा आत्मसम्मान र कार्यस्वतन्त्रतालाई प्राथमिकता दिएको सन्देशका रूपमा समेत हेरिएको छ ।

यता, सक्षम र सक्रिय नेतृत्वलाई जिम्मेवारी निर्वाह गर्न नदिने प्रवृत्तिले संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको टिप्पणीसमेत हुन थालेको छ । डा. शाहको राजीनामाले रुपन्देही कांग्रेसका कार्यकर्तामाझ निराशा र असन्तुष्टि बढाएको देखिएको छ भने नेतृत्वले समयमै यस्ता आन्तरिक विवाद सम्बोधन नगरे संगठनात्मक एकता र ऊर्जा प्रभावित हुन सक्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।