‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’


काठमाडौं, जेठ २ । आन्ध्र प्रदेशमा मुख्यमन्त्री चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले भने, “तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।” चन्द्रबाबुले भने, “धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।”

दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्। चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्व मुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिनेगरेको पाइन्छ ।

मुख्यमन्त्री नायडुले विगतमा धेरै पटक ‘दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको’ यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो गर्नुनहुने बताउँदै आएका छन् । उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको स्मरण गराएका छन् ।