मदन-आश्रितको योगदान स्मरण गर्दै भण्डारीले भनिन् : वर्तमान चुनौतीको सामना गर्न त्याग र समर्पण अपरिहार्य


काठमाडौं, जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनतामाझ स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताएकी छन्।

मदन–आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनले मदन भण्डारी र जीवराज आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन अभूतपूर्व योगदान दिएको उनको भनाई छ ।

‘मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो। जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ,’ उनले भनेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले वर्तमान चुनौतीहरूको सामना गर्न सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको धारणा व्यक्त गरिन्। उनले जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बिचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक रहेको बताइन्। यसैगरी, सिद्धान्त र व्यवहारबिच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्ने भनाइ राखेकी छन् ।

‘अहिले देखिएका चुनौतीहरूको सामना गर्नेका लागि महत्वपूर्ण सर्त भनेको सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छन्। साथै जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बिचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक छ। जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु पर्दछ,’ उनले भनिन्।

भण्डारीले जननेता मदन भण्डारीले अघि सारेको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताकी छन्। उनले मदन–आश्रित स्मृति दिवसले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

उनले भनेकी छन्, ‘जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ। मदन–आश्रित स्मृति दिवशले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस्।’