अबुधाबी, ३ जेठ । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ । दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गरेको बताइएको छ ।
संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेषगरी मध्यपूर्वको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदानप्रदान गरेका थिए।
वार्ताका क्रममा दुवै देशबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । दुवै नेताले आपसी सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको समाचारमा उल्लेख छ ।
यसैबीच, राष्ट्रपति पुटिनले रुस र युक्रेनबीच कैदी आदानप्रदान गराउन संयुक्त अरब इमिरेट्सले गर्दै आएको मध्यस्थता प्रयासको प्रशंसा गरेका छन् । उनले उक्त पहललाई मानवीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको बताएको समाचार संस्थाले जनाएको छ । रासस




प्रतिक्रिया