मस्को क्षेत्रमा ड्रोन आक्रमणः ३ जनाको मृत्यु, दर्जनौं घाइते


मस्को, ३ जेठ । रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो मात्राको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको दुःखद मृत्यु भएको क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले जानकारी दिएका छन् ।

उनका अनुसार, एउटा आवासीय घरमा मानवरहित हवाई यान ठोक्किँदा एक महिलाको ज्यान गएको हो । साथै थप एक व्यक्ति भग्नावशेषमुनि फसेको र दुई पुरुषको पनि मृत्यु भएको पुष्टि गरिएको छ । उनले बिहान करिब ३ बजेदेखि नै वायु रक्षा प्रणालीले ठूलो मात्राको आक्रमण रोक्ने प्रयास गरिरहेको बताए ।

यस घटनामा कम्तीमा ४ जना घाइते भएका छन् भने विभिन्न पूर्वाधार संरचनाहरूमा पनि क्षति पुगेको छ ।

राजधानी मस्कोमा मेयर सर्गेई सोब्यानिनका अनुसार रातभरमा कम्तीमा ७४ वटा मानवरहित हवाई यान खसालिएको वा अवरुद्ध गरिएको थियो । उनका अनुसार भग्नावशेष खस्दा १२ जना घाइते भएका छन् र केही स्थानमा सामान्य क्षति भएको छ ।

पछिल्लो २४ घण्टामा १२० वटा मानवरहित हवाई यान नष्ट गरिएको दाबी गरिएको छ ।

आक्रमणको जिम्मेवारीबारे आधिकारिक पुष्टि नभए पनि युक्रेनले रुसभित्र विभिन्न स्थानमा आक्रमण गर्ने क्रम बढाउँदै आएको छ, जसलाई उसले ‘प्रतिशोधात्मक कारबाही’ भन्ने गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै थप प्रतिकारात्मक आक्रमण गर्ने चेतावनी दिएका छन् । रासस