काठमाडौँ । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलालाई पुरानै धारमा फर्काउन थालिएको छ । लामो समयदेखि अतिक्रमणको चपेटामा परेको मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाएको दुई सातामै सरकारले मनोहरा खोलालाई २०२१ सालको नापीअनुसार पुरानो धारमा फर्काउने काम तीव्र पारेको हो ।
सुकुम्बासी बस्ती हटेको १५ दिनभित्रै खोलाको बहावलाई पुरानै ठाउँमा ल्याउन तीव्र गतिमा काम भइरहेको छ । यस्तै, खोलाको दुवै किनारमा पक्की पर्खाल (ग्याबियन वाल) लगाउने काम पनि सुरु भइसकेको छ ।
हिजोका दिनमा राजनीतिक संरक्षण र प्रशासनिक उदासीनताका कारण ‘कदम चाल्नै नसकिने’ भनिएको यो क्षेत्रमा अहिले डोजर र स्काभेटरहरूले धमाधम काम गरिरहेका छन् ।
खोलालाई पुरानै धारमा फर्काएर दुवैतर्फ करिडोर निर्माणलाई तीव्रता दिइएसँगै वर्षौँदेखि सास्ती खेप्दै आएका काठमाडौँ र भक्तपुरका स्थानीय र जग्गाधनी खुसी भएका छन् ।
२०२१ सालको नापीपछि मनोहरा खोलाले आफ्नो प्राकृतिक स्वरूप गुमाएर धार परिवर्तन गरेको थियो । लामो समय सुकुम्बासी बस्ती बसेकाले यसअघि नदीको धारलाई पूर्ववत् अवस्थामा फर्काउन कठिनाइ भएको काठमाडौँ महानगरपालिकाका अधिकारीहरुले बताएका छन् । अहिले खोलालाई पुरानै धारमा फर्काएर स्थानीय जग्गाधनीको जमिन फिर्ता गर्ने र करिडोर बनाउने काम अघि बढेको हो ।
खोलालाई पुरानै धारमा फर्काएर दुवै किनारमा करिडोर सडक निर्माण गरेपछि उपत्यकाकै सबैभन्दा जटिल मानिने कोटेश्वर–जडीबुटी क्षेत्रको ट्राफिक जाम घट्ने विश्वास लिइएको छ ।




प्रतिक्रिया