काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीले सगरमाथा आरोहण गरेका छन् । उनीहरूले आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सहायक हवल्दार कार्कीले बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
सगरमाथाको सफल आरोहण गरेका शेर्पा र कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गरेर संगठनको गौरवलाई अझ उँचो बनाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमशः शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।




प्रतिक्रिया