कीर्तिमानी आरोहीप्रति प्रधानमन्त्रीले गरे सम्मान


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शाहले आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ बढी विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शेर्पाले आइतबार बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै पुरानो कीर्तिमान तोडेका हुन् ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्’ – प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यस्तै, लाक्पा शेर्पाले आज बिहान ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी छन् ।

‘निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछु,’ प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्, ‘खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुवै जना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनको भनाइ छ ।