रुपन्देही । ज्योतिष शास्त्रको वैज्ञानिकता, शास्त्रीय गरिमा र सामाजिक उपयोगितालाई सुदृढ बनाउने उद्देश्यसहित दक्षिण एसियाली ज्योतिष महासंघ (South Asian Astro Federation) लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। रुपन्देहीको मणिग्रामस्थित विश्रामवाटिकामा शनिबार आयोजित अधिवेशनले चुरामणि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
“प्रत्यक्ष ज्यौतिषं शास्त्रं चन्द्राकौं यत्र साक्षिणौ ।” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सम्पन्न अधिवेशनमा ज्योतिष क्षेत्रका अग्रज विद्वान, अभियन्ता तथा साधकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय सभापति तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी प्रमुख आचार्य लक्ष्मण पन्थी रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले ज्योतिष शास्त्रलाई अन्धविश्वासका रूपमा बुझ्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै यसलाई वैज्ञानिक अध्ययन र जीवन मार्गदर्शनसँग जोडिएको ज्ञानको रूपमा व्याख्या गर्नुभयो।
उहाँले भन्नुभयो, “ज्योतिष केवल भाग्य बताउने साधन होइन, यो वेदको नेत्र तथा समय, ग्रह र मानवीय जीवनबीचको सम्बन्धलाई अध्ययन गर्ने गहन विद्या हो। यसको संरक्षण, अनुसन्धान र सही प्रचार आजको आवश्यकता हो।
नयाँ पुस्तामा ज्योतिषप्रति सकारात्मक आकर्षण बढाउन र समाजमा रहेका भ्रम चिर्न विद्वानहरूबीच एकता अपरिहार्य छ।”
आचार्य पन्थीले लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले ज्योतिष क्षेत्रलाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
ज्योतिष क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता लुम्बिनी प्रदेश समितिका निवर्तमान सभापति जोगेन्द्र पाण्डेयको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद पराजुली, राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्ले, अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष लक्ष्मण गौतम तथा राष्ट्रिय समितिका महासचिव एवं अन्तर्राष्ट्रिय प्रवक्ता रविन पंगेनीलगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश प्रवक्ता बद्री प्रसाद भट्टराईले गर्नुभएको थियो।
नयाँ कार्यसमिति सर्वसम्मत चयन
अधिवेशनले आगामी कार्यकालका लागि निम्नानुसार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ :
सभापति : चुरामणि पाण्डे
उपसभापति : अनुप शर्मा, गायत्री सुवेदी, विष्णु गाहा मगर, हरिश्चन्द्र पौडेल
महासचिव : बद्री प्रसाद भट्टराई
उपमहासचिव : मनोज भुसाल (किरण)
कोषाध्यक्ष : जनक पोखरेल
सचिव : सन्देश सापकोटा
सहसचिव : सुजन शर्मा
प्रवक्ता : विवेक शर्मा
सदस्य: दुर्गा प्रसाद पोखरेल, विष्णु भण्डारी, डोलराज पाण्डे, सुजन पराजुली, बालकृष्ण पंगेनी, किशन भुसाल, नरेश प्रसाद घिमिरे, गणेश भुसाल र शिराज गहै।
संस्थागत विकासमा प्रतिबद्धता
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय तथा राष्ट्रिय समितिका पदाधिकारीहरूले खादा तथा अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए। पदभार ग्रहणपछि नवनिर्वाचित सभापति चुरामणि पाण्डेले लुम्बिनी प्रदेशमा ज्योतिष शास्त्रको प्राज्ञिक, अनुसन्धानात्मक तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ज्योतिष क्षेत्रलाई आधुनिक पुस्तासँग जोड्दै व्यवस्थित र सम्मानित विधाका रूपमा स्थापित गर्न आफ्नो टोली सक्रिय रहने बताउनुभयो।




प्रतिक्रिया