मिथिला नगरपालिकाका ४८३ परिवारले पाए लालपुर्जा


जनकपुरधाम । लामो समयदेखि (भूमिहीन) सुकुमबासीका रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबिच लालपुर्जा वितरण गरिएको छ ।

मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको हो ।

गाउँब्लकका जमिन लालपुर्जाबिना भोग गर्दै आएका सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ । टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिएको बताए । उनका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपुर्जाका लागि निवेदन दिएको थिए ।

यसअघि सो टोलीले उक्त पालिकाको वडा नंं १, ६ र ७ का ६४ (भूमिहीन) सुकुमबासी परिवारलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको थियो । नापी कार्यालय धनुषाको दुई नं टोलीद्वारा गाउँ ब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया सुरु गरेको थियो । त्यसको आधारमा लालपुर्जा वितरण गरिएको प्रमुख साहले जानकारी दिए ।

साहका अनुसार आज यहाँ आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोलगायत पदाधिकारीले सम्बन्धित जग्गाधनीलाई सो जग्गाधनी लालपुर्जा वितरण गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मण्डलले लामो समयको सङ्घर्ष पश्चात लालपुर्जा प्राप्त गर्नेलाई बधाई दिँदै लालपुर्जा पाउने प्रक्रियाबाट छुटेकाहरूलाई यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरेर निजको भोगाधिकार दिलाउन लालपुर्जा वितरण गर्न अनुरोध गरे । साथै पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले आपसी विवादबाट मुक्त भई कार्य गर्न आग्रह गरे । 

मिथिला नगरपालिकाका प्रमुख महतोले लामो समयदेखि लालपुर्जा नपाएका भूमिहीनले अहिले लालपुर्जा प्राप्त गरेर रैतीबाट शासक बनेका भन्दै सबैको सहकार्य र समन्वयमा नगरको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

धनुषाका ७५ वटा गाउँब्लक छन् । तीमध्ये ७२ वटा गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । त्यसअन्तर्गत १२ वटा गाउँब्लकको धनीपुर्जा वितरण भइसकेको नापी कार्यालयले जनाएको छ । रासस