काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशलाई लिएर व्यवस्थापिका र न्यायपालिकाबीचको टकराव प्रतिनिधिसभामा छताछुल्ल भएको छ ।
प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले कामु प्रधानन्यायाधीश मल्लको कदम र उनको सार्वजनिक अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्। न्यायाधीशहरूको कामकारबाही र अदालतमा विचाराधीन मुद्दामा संसद्मा प्रश्न उठाउन नपाइने संवैधानिक बन्देजका बाबजुद रास्वपा सांसदहरू संसद्मै न्यायाधीशविरुद्ध खनिएका हुन्।
कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषद्को निर्णयअनुसारचौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने सिफारिसविरुद्ध सर्वोच्च प्रशासनले दरपिठ गरेका रिटहरू तत्काल दर्ता गर्न आदेश दिएपछि यो विवाद चर्किएको हो। संसद्मा रास्वपाका सांसदद्वय समीक्षा बाँस्कोटा र यज्ञमणि न्यौपानेले अदालतले आफ्नो सीमा नाघेको आरोप लगाए।
‘बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बाँस्कोटाले कामु प्रधानन्यायाधीश मल्लले कानुन दिवसका अवसरमा दिएको ‘लडाईं अझै बाँकी छ’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर मैदानमा आउनुहोला, हामी तयार छौँ।”
रास्वपाकै अर्का सांसद एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पनि कामु प्रधानन्यायाधीश मल्लको आदेशप्रति आपत्ति जनाउँदै न्यायिक सक्रियता बढेको टिप्पणी गरे।
यसैबीच, एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्ति जनाउँदै रास्वपा सांसदहरूको भनाइ संविधानविपरीत रहेको भन्दै संसद्को ध्यानाकर्षण गराए।
तर न्यायाधीशहरूको कामकारबाही र अदातलमा विचाराधीन विषयमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया