काठमाडौं, जेठ ४ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इंग्लिसले अर्धशतक पूरा गरे । उनी ७२ बलमा ५१ रन बनाए । जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओलीइ जोन्स २ र ओलीभर डेभिडसन कुनै पनि रन नजोडी आउट भए ।
बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । लामो समय विकेटविहीन बनेका ललितले स्कटल्याण्डविरुद्ध ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सन्दीपले ओडिबईमा सबैभन्दा छिटो १५० विकेटले मिचेल स्टार्कको कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान बनाए। उनले ७३ खेलमा उक्त उपलब्धि हासिल गरे । सात वर्षअघि स्टार्कले ७७ खेलमा उक्त कीर्तिमान बनाएका थिए । नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक९एक विकेट लिए ।
स्कटल्यान्ड विरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको हो । २७ खेल खेलेको नेपालले २२ जोडेको छ । २८ खेल खेलको नामिबिया समान २२ अंकसहित रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ । २४ खेलबाट २१ अंक जोडेको क्यानडा सातौं र २४ खेलबाट १४ अंक जोडेको युएई अंक तालिकाको पुछारमा छ ।
पराजित भएपछि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।




प्रतिक्रिया