बेइजिङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको राजधानी बेइजिङको भ्रमणमा रहेका छन् । पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबिच बेइजिङमा भएको विस्तारित वार्तामा दुई देशले द्विपक्षीय सहकार्य अझ विस्तार गर्ने सहमति व्यक्त गरेका छन् ।
वार्ताका क्रममा रुस र चीनले द्विपक्षीय सहकार्य विकास गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै काम गर्ने पुटिनले बताएका छन् । यसले ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय समूहमा दुई देशको समन्वयलाई सङ्केत गरेको विश्लेषण गरिएको छ ।
पुटिनले वार्ता सार्थक भएको भन्दै रुस–चीन साझेदारीलाई उदाहरणीय सम्बन्धको रूपमा वर्णन गरेका छन् । दुई देशको साझा लक्ष्य रुसी र चिनियाँ जनताको समृद्धि रहेको पनि उनले बताए ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा रुस–चीन बिचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको राष्ट्रपति सीले बताएका छन् । सीले बेइजिङ दीर्घकालीन, स्थिर र स्वस्थ सम्बन्धलाई अटल रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको दोहोर्याए ।
उनले दुई देशबिचको पारस्परिक विश्वासको आधार अझ बलियो हुँदै गएको पनि बताए । ‘वाइड फर्म्याट मिटिङ’ भनिएको विस्तारित बैठक स्थानीय समयअनुसार दिउँसो सुरु हुने तय भए पनि करिब एक घण्टा ढिला गरी प्रारम्भ भएको थियो ।
भेटवार्तामा ऊर्जा, व्यापार, अन्तर्राष्ट्रिय राजनीति तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको अनुमान गरिएको छ । एजेन्सी




प्रतिक्रिया