काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र गुटको राजनीति फेरि एकपटक सतहमा छताछुल्ल भएको छ। विशेष महाधिवेशन सकिएको केही समयमै संस्थापन पक्षसँग असन्तुष्ट बनेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौँको अनामनगरमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेसँगै कांग्रेसभित्रको आन्तरिक किचलो सतहमा आएको हो ।
इतर पक्षका जुझारु नेताहरुको सक्रियतामा अनामनगरमा नयाँ कार्यालय खुलेसँगै कांग्रेसभित्रको संघर्ष जटिल मोडमा पुगेको संकेतका रूपमा हेरिएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुँदाहुँदै देउवा समूहलाई किन छुट्टै राजनीतिक ओत चाहियो ? के कांग्रेस फेरि एकपटक फुटको संघारमा उभिएको हो भन्ने प्रश्न यसले खडा भएको छ ।
विशेष महाधिवेशनपछि कांग्रेसको बागडोर सम्हालेका संस्थापन पक्ष, अझ सभापति गगन थापाले पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको इतर पक्षको आरोप छ। अनामनगरको यो कार्यालय कुनै रहर नभएर संस्थापन पक्षको उपेक्षाविरुद्धको राजनीतिक रक्षाकवच भएको देउवानिकट नेताहरू बताउँछन्।
‘साथीहरूसँग बसेर छलफल गर्ने ठाउँ नभएपछि नयाँ कार्यालय खोलेको’ एक नेताले बताए । आफूहरुले निष्पक्ष महाधिवेशन चाहेको पनि इतर पक्षका नेताहरुको भनाइ छ ।
यसैबीच, संस्थापन पक्षले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत देशभर आफ्ना गतिविधि तीव्र पारिरहँदा देउवा समूह आफ्ना कार्यकर्ताहरू पाखा लाग्ने संशयमा छ। त्यसैले अनामनगरको कार्यालयबाट आफ्नो पक्षको रणनीति बनाउने पनि उनीहरुको तयारी छ ।
छुट्टै कार्यालय सञ्चालन र सातै प्रदेशमा समानान्तर भेला गर्ने देउवा समूहको कदमलाई कतिपयले ‘पार्टी विभाजनको पूर्वाभ्यास’का रूपमा पनि व्याख्या गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेत पुगेर ‘गगन थापा सिंगो पार्टीको सभापति बन्न नसकेको’ भनी सार्वजनिक टिप्पणी गरेपछि संशय झनै बढेको हो। यसैबीच, देउवा समूहका नेताहरुले १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ र ‘सबै अट्ने कांग्रेस’ बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरू राष्ट्रिय भेलाको तयारीमा रहेको समेत स्रोतले जनाएको छ ।
तर, इतिहास साक्षी छ कि कांग्रेसमा यसअघि भएका विभाजनहरू पनि यस्तै असन्तुष्टि, छुट्टै भेला र समानान्तर कार्यालयकै जगमा भएका थिए। त्यसैले, वैचारिक र सांगठनिक दूरी यसैगरी बढ्दै गएमा दुर्घटनाको सम्भावनालाई नकार्न सकिँदैन। त्यसैले कांग्रेसलाई विभाजनको सम्भावित दुर्घटनाबाट जोगाउने अचुक उपाय भनेकै सर्वपक्षीय सहमति र आन्तरिक लोकतन्त्रको सन्तुलन नै हो । यसका लागि दुवै पक्षले बाहिर–बाहिर एकताको रटान लगाउने तर भित्रभित्रै इबी साध्ने प्रवृत्ति त्याग्नैपर्छ। सानेपा र अनामनगरका कार्यालयमा हुने संवादहरू छिट्टै एउटै साझा टेबुलमा हुन जरुरी छ भने विशेष महाधिवेशनमा सहभागी भएका र नभएका आधारमा कार्यकर्ताहरूमाथि भइरहेको गुटगत विभेद तत्काल रोकिन जरुरी छ । यस्तै, महाधिवेशनलाई शक्ति प्रदर्शनको अखडा बनाउनुको साटो नीति र विचारको साझा मञ्च बनाउन दुवै पक्ष सहमत हुनुपर्छ।
कांग्रेसका वर्तमान सभापति गगन थापा नेपाली राजनीतिमा आशा गरिएका र युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेता हुन्। तर, पार्टीको सर्वोच्च पदमा पुगेपछि उनको भूमिका एउटा गुटको नेतामा मात्र सीमित देखिनु हुन्न। कांग्रेसलाई फुटबाट जोगाउन र पार्टीलाई ऊर्जाशील बनाउन थापाले गुटको नेता होइन, सिंगो पार्टीकै अभिभावक बन्न जरुरी छ । यसका लागि सभापति थापा आफैँ अग्रसर भएर देउवा पक्षका नेताहरूसँग निर्णायक वार्ता थाल्न जरुरी छ। इतर समूहका नेताहरूसँग सिधा संवाद गरी थापाले उनीरूको सरोकार सम्बोधन गर्ने विशाल छाती प्रदर्शन गर्न सक्नुपर्छ।
अब खुलिसकेको अनामनगरको सम्पर्क कार्यालयलाई सानेपामै मिसाउन सभापति थापाले अगुवाइ लिन जरुरी छ । इतर पक्षलाई मिलाएर अघि बढ्न सक्नु यो उनका लागि चुनौती र अवसर दुवै हो। यदि उनले आफ्नै प्रतिबद्धताबमोजिम सबैलाई समेटेर १५ औँ महाधिवेशनलाई साँच्चिकै एकताको महाधिवेशन बनाउन सके भने कांग्रेस फुटबाट जोगिनेछ, नत्र अनामनगरबाट सल्केको असन्तुष्टिको झिल्को डढेलोका रुपमा देशैभरका वडा तहसम्मै फैलिएर कांग्रेसलाई निकै लामो समयसम्म पिरोल्न सक्छ । त्यसैले कांग्रेस नेतृत्वले बेलैमा सजगता अपनाउन जरुरी छ ।




प्रतिक्रिया