भारतमा ‘ककरोच जनता पार्टी’ को तीव्र चर्चा,चार दिनमै फ्यान फलोइङ १ करोड नाघ्यो


काठमाडौं । भारतका सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई “ककरोच”सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सुरु भएको ‘ककरोच जनता पार्टी’ अभियान अहिले व्यापक चर्चामा आएको छ।

यस अभियानसँग सम्बन्धित इन्स्टाग्राम ह्यान्डलमा केही दिनमै फलोअरहरूको संख्या तीव्र रूपमा बढेको छ। चार दिनभित्रै उक्त पेजका फलोअर १ करोड १८ लाखभन्दा बढी पुगेका छन् ।

इन्टरनेटमा ‘ककरोच जनता पार्टी’को नाममा वेबसाइटसमेत सञ्चालनमा आएको छ भने एक्समा पनि यसको उल्लेखनीय उपस्थिति देखिएको छ। वेबसाइटमार्फत दुई लाखभन्दा बढी मानिसले सदस्यताका लागि दर्ता गराएका छन् ।

वेबसाइटमा उपलब्ध जानकारीअनुसार, ‘ककरोच जनता पार्टी’का संस्थापक तथा संयोजक अभिजीत दीपके हुन्।

यो सामाजिक सञ्जाल अभियान कसरी सुरु भयो भन्ने प्रश्नमा अभिजीत दीपकेले बीबीसीसँग कुरा गर्दै भनेका छन्, “म एक्समा भारतका मुख्य न्यायाधीशको अभिव्यक्ति हेरिरहेको थिएँ। त्यहाँ उनले प्रणालीको आलोचना गर्ने र आफ्ना धारणा राख्ने युवाहरूलाई ककरोच तथा परजीवीसँग तुलना गरेका थिए।” एजेन्सी