क्रिकेट विश्वकप लिग २ : आज नेपाल र अमेरिका आमनेसामने


काठमाडौं, जेठ ८ । क्रिकेट विश्वकप लिग २ सिरिजमा नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अहिले बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले सन् २०२४–२६ को लिग २ को यात्रामा घरेलु मैदानमा खेल्ने यो अन्तिम खेल हो।

यसक्रममा नेपालले घरेलु मैदानमा ११ मध्ये ६ खेल जितेको छ, त्यसमा एक खेल अमेरिकाविरुद्ध गत शनिबार थियो। उत्कृष्ट ब्याटिङ सुरुआत गरेको अमेरिकालाई २ सय रनमुनि रोक्दै नेपालले कुशल भुर्तेलको शतकपछि ९ विकेटको सानदार जित पाएको थियो। जिम्बावेमा सन् २०२३ को विश्वकप छनोटयता नेपालले अमेरिकामाथि पाएको यो पहिलो विजय हो।

आठ राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले कुल ३६ खेल खेल्नेछ। त्यसमध्ये १२ घरेलु मैदान, १२ तटस्थ भूमि र १२ विपक्षीको भूमिमा खेल्नुपर्ने प्रावधान छ। २०२०–२३ को लिग २ को पछिल्लो सर्कलमा नेपालले घरेलु मैदानमा १२ मध्ये १० खेल जितेको थियो।