काठमाडौं, जेठ ९ । नेकपा (एमाले|)को सचिवालय बैठकमा अधिकांश नेताहरूले ‘मार्गप्रशस्त’ गर्न माग गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने अडान लिएका छन् । शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए भने शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले आफ्ना विचार प्रस्तुत गरेका छन् ।
शनिबारको बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई खुलेरै मार्गप्रशस्त गर्न आग्रह गरे छन् । महासचिव पोखरेलले भने घुमाउरो शैलीमा अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने उल्लेख गरे छन् ।
यसैबीच, नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब बढेपछि ओलीले आफू त्यस्तो मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । शनिबारको बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ र यसरी छाड्दा पनि छाड्दिनँ ।’
सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न आग्रह गरिरहँदा ओलीले भने केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको तर्क गर्न थालेका छन् । उनले यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर आवश्यक निर्णय लिइने बताएका छन् ।
अब चार जना सचिवहरूले बैठकमा आफ्नो धारणा राख्न बाँकी छ । उनीहरूले धारणा राखेपछि प्रस्तावित एजेन्डामाथि छलफल हुने र भोलीको बैठकमा अध्यक्ष ओलीले भने बोलेपछि आवश्यक निर्णय गरिने छ ।



प्रतिक्रिया