काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ ।
विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका लागि बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई गत जेठ ८ गते आयोजित कार्यक्रममा पानी ट्यांकी तथा मोटर हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच अझ प्रभावकारी हुनुका साथै विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।
एन आई सी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।



प्रतिक्रिया