प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न


काठमाडौँ, १२ जेठ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ ।

यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो ।

यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो । प्रतियोगितामा १२ वटा क्लबका दुई १८ जना खेलाडीले १३ वटा विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए ।

समापन समारोहमा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, नेपाल टेनिस सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबमा आबद्ध पदाधिकारीलगायतको उपस्थिति थियो । रासस