काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघलाई संगठनात्मक रूपमा पुनर्जीवित गर्दै डिजिटल रूपान्तरण, महिला सशक्तिकरण र सामाजिक अभियानलाई प्रभावकारी बनाउने लक्ष्यसहित चितवनकी मीनाकुमारी खरेललाई नेपाल महिला संघको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, ललितपुरबाट जारी पत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम खरेललाई निर्धारित समयभित्र नेपाल महिला संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित १७ बुँदे कार्यदिशा हस्तान्तरण गरेका हुन्।
पत्रअनुसार २०८३ जेठ १५ गतेभित्र सबै क्षेत्र, समुदाय, उमेर समूह र भूगोलको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्नेछ। आवश्यकता अनुसार पदाधिकारी तथा उपसमिति गठन गरी संगठनलाई थप गतिशील बनाउने उल्लेख गरिएको छ।
त्यसैगरी, २०८३ श्रावण मसान्तभित्र तल्लो तहका रिक्त वा पुनर्गठन आवश्यक समितिहरूलाई पूर्णता दिई अधिवेशन आयोजक समिति गठन गर्नुपर्ने तथा २०८३ फागुन १५ गतेभित्र नेपाल महिला संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ। महाधिवेशनको विस्तृत कार्यतालिका भने २०८३ श्रावण १ गतेभित्र पार्टीसमक्ष पेश गर्नुपर्नेछ।
सभापति गगन थापाले महिला संघलाई “सबल, सक्षम र प्रभावकारी” संगठनका रूपमा विकास गर्न डिजिटल अभिलेख निर्माण, सदस्यता व्यवस्थापन र संगठन विस्तार अभियानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। साथै समाजका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई संगठनसँग जोड्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।
राजनीतिक तथा सामाजिक अभियानअन्तर्गत महिलाको अर्थपूर्ण प्रतिनिधित्व, लैंगिक समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र सामाजिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ। महिला हिंसा, साइबर बुलिङ, दाइजो प्रथा, छाउपडी, बोक्सी आरोपजस्ता कुरीति तथा कुप्रथाविरुद्ध प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने दायित्व पनि नयाँ नेतृत्वलाई दिइएको छ।
पत्रमा हिंसामा परेका महिलाका लागि हटलाइन तथा हेल्पडेस्क सञ्चालन, निःशुल्क कानुनी सहायता, मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा वैदेशिक रोजगारीमा गएका महिलाको अधिकार र सुरक्षाका लागि विशेष पहल गर्ने विषयलाई समेत प्राथमिकताका साथ समेटिएको छ।
महिला संघमार्फत संघीय, प्रदेश र स्थानीय तहका सरकारका नीति, कार्यक्रम तथा बजेटमा महिलामैत्री योजना सुनिश्चित गर्न दबाब र खबरदारी गर्ने, प्रत्येक स्थानीय तहमा महिला सशक्तिकरण तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि तोकिएको छ।
सभापति थापाले पत्रमार्फत “संगठनलाई सुदृढ, गतिशील र परिणाममुखी बनाउनुहुनेछ भन्ने अपेक्षासहित सफल कार्यकालको हार्दिक शुभकामना” व्यक्त गरेका छन्।
“जय नेपाल” नारासहित जारी निर्णयलाई नेपाली कांग्रेसका कार्यबाहक मुख्यासचिब कृष्ण प्रसाद दुलालले उक्त जिम्मेवारीको पत्र हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया