काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका हुन्
पार्टीको आन्तरिक विवाद र आसन्न १५ औँ महाधिवेशनका विषयमा चर्चा गर्दै नेता सिंहले हाल पार्टीमा विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड बताए ।
‘हाम्रा आदरणीय संस्थापक नेताहरूले जुन संस्कार र मूल्य–मान्यताका आधारमा कांग्रेस स्थापना गर्नुभयो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो,’ उनले भने,‘‘१५ औँ महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गर्नु उचित हुँदैन ।’



प्रतिक्रिया