प्रधानमन्त्रीले महिला अधिकार दिवसको अवसरमा दिएकाे शुभकामना सन्देशमा के छ ?


 काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीका साथै महिला हक र अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

“महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै गरिएको यस दिवसका अवसरमा प्रधानमन्त्री शाहले महिला हक, अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री शाहले राज्यले अवलम्बन गरेका समावेशी नीतिका कारण महिलाको प्रतिनिधित्व र सहभागितामा उल्लेखनीय वृद्धि भएको र लैङ्गिक विकास सूचकाङ्कमा समेत क्रमिक सुधार देखिएको उल्लेख गरे‍का छन् । यद्यपि, समाजमा अझै पनि बाधकका रूपमा रहेका विभिन्न कुप्रथाहरूको अन्त्य हुन बाँकी रहेको उनकाे भनाइ छ ।

“सबै प्रकारका लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै महिला सशक्तीकरण र न्यायपूर्ण समाज निर्माणमा बाधकका रूपमा रहेका पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथा एवं लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्य गर्न कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि र लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ,” प्रधानमन्त्री शाहले भनेका छन् ।