डा‍.राणाको समूह राप्रपाबाट बाहिरिँदै, दुर्गा प्रसाईँसँग मिलेर नयाँ दल दर्ता गर्ने तयारी !


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको समूहले पार्टी परित्याग गर्ने भएको छ ।

राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै आएका राणाले आगामी जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा घोषणा गर्ने तयारी गरेको स्रोतले बतायो।

उनीहरुले नेतृत्वको कार्यशैलीकै कारण प्रतिनिधिसभा निर्वाचन २०८२ मा राप्रपाका अधिकांश उम्मेदवारहरुको जमानत जफत भएको आरोप लगााउँदै आइरेहका छन् । पार्टीको केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति लगायतका वैठकमा भएको छलफलको समेत कुनै सुनवाइ नभएको उनीहरुको गुनासो छ ।

सामूहिक राजीनामापछि राणाको समुह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर एउटा नँया दल दर्ता गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

डा.राणा र प्रसाईंबीच यस विषयमा पटकपटक छलफल भएको बुभिएको छ । उनीहरुले छरिएर रहेका सबै राजावादीहरुलाई समेटेर एउटा बलियो शक्ति निर्माण गर्ने लक्ष्य राखेको छ ।

राणा समूहबाट ४०–५० जना केन्द्रीय सदस्यहरु सामूहिक राजीनामा दिन तयार रहेको एक नेताले बताए ।