सशस्त्रको बेस क्याम्प पुनःस्थापनाका लागि ऋषि धमलाको दौडधुप, गृहसचिवदेखि आईजीपीसम्मलाई फोन !


मोरङ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमला आफ्नो अभियान विस्तारका क्रममा मोरङको पथरी पुगेका छन् । सो क्रममा स्थानीयबासीले विगतको जेन्जी आन्दोलनका बेला हटेको सशस्त्र प्रहरीको बेस क्याम्प पुनःस्थापना नहुँदा आफूहरू असुरक्षित भएको भन्दै धमलासमक्ष गुनासो पोखेका छन् ।

सशस्त्र प्रहरीको क्याम्प हटेपछि पथरी र आसपासका ग्रामीण क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको छ । स्थानीयका अनुसार सुरक्षा निकायको उपस्थिति नहुँदा हाल यस क्षेत्रमा आपराधिक गतिविधि बढेका छन् भने युवाहरू तीव्र रूपमा कुलतमा फसिरहेका छन् । जसका कारण स्थानीयबासीहरू चौबीसै घण्टा त्रासको वातावरणमा बस्न बाध्य छन् ।

सुरक्षाको अभाव झेलीरहेका पथरीबासीले तुरुन्त सशस्त्र प्रहरीको बेस क्याम्प पुनःस्थापना गर्न जोडदार माग गरेका छन् ।

स्थानीयबासीको गम्भीर गुनासो र असुरक्षाको वातावरणलाई मध्यनजर गर्दै अभियानका अध्यक्ष ऋषि धमलाले तुरुन्तै एक्सन लिएका छन् । उनले स्थानीयलाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउने वचन दिँदै सम्बन्धित उच्च अधिकारीहरूसँग तत्कालै फोन संवाद अगाडि बढाएका हुन् ।

धमलाले पथरीमा बेस क्याम्प स्थापना गर्नका लागि स्थलगत भ्रमणकै क्रममा निम्न अधिकारीहरूसँग सिधा टेलिफोन संवाद गरेः

मोरङका प्रमुख जिल्ला अधिकारीः युवराज कट्टेल

गृहसचिवः राजकुमार श्रेष्ठ

सशस्त्र प्रहरीको आईजीपी: नारायणदत्त पौडेल
मोरङ क्षेत्र नं. ३ का सांसद गणेश कार्की

पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापो



‘सुरक्षा पाउनु नागरिकको मौलिक अधिकार हो । राज्यको उपस्थिति नहुँदा जनता असुरक्षित हुने र युवाहरू कुलतमा फस्ने कुरा सह्य हुन सक्दैन । मैले गृहसचिव, आईजीपी, सिडिओ र सांसदसँग कुरा गरिसकेको छु । पथरीमा तुरुन्तै बेस क्याम्प पुनःस्थापना गर्नका लागि मेरो तर्फबाट हरसम्भव पहल हुनेछ,’ धमलाले भने ।

धमलाको तत्परता र आश्वासनपछि लामो समयदेखि असुरक्षित महसुस गरिरहेका पथरीका स्थानीयबासीले केही राहत महसुस गर्दै बेस क्याम्प छिट्टै फर्किने विश्वास व्यक्त गरेका छन् ।