धमलाद्वारा मोरङको भुटानी शरणार्थी शिविर अवलोकनः‘आधारभूत आवश्यकता र मानवअधिकार सुनिश्चित हुनुपर्छ’


मोरङ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलाले मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरको स्थलगत अवलोकन गरेका छन् । तेस्रो देश पुनर्स्थापनापछि पनि शिविरमा बाँकी रहेका शरणार्थीहरूको नाजुक अवस्थाबारे बुझ्न धमला त्यहाँ पुगेका हुन् ।

हाल उक्त शिविरमा करिब ६ हजार ५ सय भुटानी शरणार्थीहरू बसोबास गरिरहेका छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय सहायता कटौती हुँदा शिविरभित्रका शरणार्थीहरू अहिले चरम खाद्य संकट, स्वास्थ्योपचारको अभाव र बालबालिकाको शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका छन् ।

शिविरको अवलोकनका क्रममा शरणार्थीहरूले पत्रकार धमलालाई घेरेर आफ्ना पीडा र गुनासाहरू पोखेका थिए । ‘हामीसँग न खाने अन्न छ, न बिरामी पर्दा ओखती गर्ने पैसा,’ एक शरणार्थीले आँसु झार्दै भने, ‘हाम्रो त मानव अधिकार नै खोसिएको जस्तो भएको छ ।’
अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको विश्वव्यापी घोषणापत्रअनुसार शरणार्थीहरूले पनि मानवसरह बाँच्न पाउने विशिष्ट अधिकारहरू पाएका हुन्छन् । जसअन्तर्गत निम्न कुराहरू पर्दछन्ः

कुनै पनि भय वा हिंसाविना सुरक्षित रूपमा बस्न पाउने अधिकार ।

पर्याप्त खाना, सफा खानेपानी, सुरक्षित आवास र कपडाको व्यवस्था हुनुपर्ने ।

बिरामी पर्दा उचित उपचार पाउनुपर्ने र बालबालिकाहरूले विद्यालय जान पाउने सुनिश्चितता हुनुपर्ने ।

शरणार्थी भएकै कारण विभेद वा अपमान सहन नपर्ने वातावरण ।

यी अधिकारहरू कुनै दया वा दान नभएर अन्तर्राष्ट्रिय कानुनले ग्यारेन्टी गरेका न्यूनतम सर्तहरू हुन्, जुन शिविरमा रहेका भुटानी शरणार्थीहरूले पनि अनिवार्य रूपमा पाउनुपर्छ ।

शरणार्थीहरूको कारुणिक अवस्था देखेपछि पत्रकार ऋषि धमलाले उनीहरूको मानवीय अधिकार र आधारभूत आवश्यकताको विषयमा आफूले दृढताका साथ आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
‘मानिस जहाँको नागरिक भए पनि जुनसुकै अवस्थामा रहे पनि उसले खान, लाउन, बस्न र उपचार पाउनु उसको नैसर्गिक अधिकार हो । मोरङको शिविरमा रहेका दाजुभाइ, दिदीबहिनीहरूको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरू अवश्य पनि पूरा हुनुपर्छ । म यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडदार रूपमा आवाज उठाउनेछु,’ धमलाले भने ।

उनले शरणार्थी समस्याप्रति नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउँदै शिविरभित्रको भोकमरी र स्वास्थ्य संकट तत्काल समाधान गर्न माग गरे । धमलाले शरणार्थीहरूलाई आश्वस्त पार्दै थपे, ‘तपाईंहरू एक्लो हुनुहुन्न, तपाईंहरूको अधिकारका लागि ऋषि धमलाले पत्रकारिता र नागरिक अभियानका माध्यमबाट निर्णायक पहल कदमी लिनेछ ।’ धमलाले प्रधानमन्त्रीलाई भने, ‘प्रधानमन्त्रीजी ! नक्कली भुटानी शरणार्थीको फाइल खोलेर दोषीलाई कारबाही गर्नुस् र वास्तविक शरणार्थीलाई न्याय दिनुस् ।