काठमाडौं, जेठ १७ । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै सतक पूरा गरेपछि एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत जारी खेलमा नेपालले चीनलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरको सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले चीनलाई जितको लागि ३ सय १४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले सतक बनाए । उनले ३५ बलमा सतक पूरा गरेका हुन् । उनले ४३ बल खेल्दै १६ छक्का र ५ चौकाको मद्दतमा १ सय २९ रन बनाए ।
कुशल टी-२० आईमा दुई सतक पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । यस्तै उनी टी-२० आईमा २ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
टी-२० आईको एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी विश्वको चौथो र नेपालको दोस्रो खेलाडी बनेका छन् । यसअघि भारतका युवराज सिंह, वेस्ट इन्डिजका काइरोन पोलार्ड र नेपालका दीपेन्द्र सिंह एरीले टी-२० आई खेलको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
यस्तै कुशल मल्ल र रोहित पौडेललेपनि विस्फोटक ब्याटिङ गर्दै अर्धसतक बनाए । कुशलले ४७ बलमा ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८५ रन बनाउँदा रोहित पौडेलले २१ बलमा नटआउट ६९ रन बनाए । उनले ७ छक्का र ५ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले ११ रनको योगदान गरे । चीनका मा क्वाचिंग र दंग जंगीले एक/एक विकेट लिए । अब चीनले जवाफी ब्याटिङ गर्नेछ ।



प्रतिक्रिया