प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधि सभामा बोलेको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् ।

सोमवारको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् ।

अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्रीको विरोध जनाए । प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्रै नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताएका थिए ।