नयाँ दिल्ली आगलागीमा घाइते दुई नेपाली डिस्चार्ज


काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीको मालवीय नगर इलाकामा रहेको एक भवनमा भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दिल्ली सरकारका अनुसार आगलागीमा परी ज्यान गुमाउनेहरूमा ११ जना विदेशी नागरिक र १० जना भारतीय नागरिक रहेका छन्।

यस आगलागीमा परी अन्य ३७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा २३ जना विदेशी नागरिक र १४ जना भारतीय नागरिक रहेका छन्। दिल्ली सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घाइतेमध्ये पाँच जना विदेशी नागरिकको अवस्था सामान्य रहेको छ भने १६ जना विदेशी नागरिकको अवस्था गम्भीर छ।

गम्भीर घाइते भएका विदेशीहरूमध्ये १० जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी ६ जनाको भेन्टिलेटरविना नै उपचार भइरहेको छ। यसैगरी, आगलागीमा परेर घाइते भएका नेपालका दुई नागरिक भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

आगलागीको घटनामा घाइते भएका १४ भारतीय नागरिकमध्ये ११ जना दिल्ली पुलिसका जवान रहेका छन्। घाइते भएका अन्य तीन जना भारतीय नागरिकको अवस्था गम्भीर रहेको बताइएको छ, यद्यपि उनीहरूलाई भेन्टिलेटरमा भने राख्नु परेको छैन।

घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। एजेन्सी