रूपन्देही । रूपन्देहीको रोहिणी गाउँपालिकामा शिक्षक सरुवासम्बन्धी विवादले उग्र रूप लिँदा एक पूर्व शिक्षा समिति सदस्यमाथि कुटपिट भएको छ। गाउँपालिका-२ का वडाध्यक्ष करम हुसेन खान शिक्षक सरुवाको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पुगेपछि विवाद बढ्दै गई कुटाकुटको अवस्था सिर्जना भएको हो।

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार, विवादका क्रममा गाउँपालिका बाहिरबाट समेत केही व्यक्तिहरू बोलाएर कार्यालय घेराबन्दी गरिएको थियो। सोही क्रममा पोखरभिण्डी माध्यमिक विद्यालयका पूर्व शिक्षा समिति सदस्य तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष कन्छा कोहारमाथि कुटपिट भएको हो।
गाउँपालिकाका एक कर्मचारीका अनुसार, वडाध्यक्ष खान आफैं लौरोसहित कार्यालय पुगेका थिए र विवाद बढ्दै गएपछि कोहारमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका कोहारलाई प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ।

गाउँपालिका अध्यक्ष यादवले दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। वडाध्यक्ष खान यसअघि पनि विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहँदै आएको बुझिएको छ। उनले विगतमा शिक्षा शाखाका कर्मचारीमाथि हातपात गरेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दासमेत दर्ता भएको थियो। यसबाहेक उनीमाथि गाउँपालिका अध्यक्षको कार्यकक्ष तोडफोड गरेको, कुर्सी फुटाएको, लेखा तथा शिक्षा शाखामा पटक-पटक तालाबन्दी गरेको र कर्मचारीहरूलाई धम्क्याएर त्रसित बनाउने गरेको आरोप समेत छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। यस विषयमा वडाध्यक्ष खानको प्रतिक्रिया लिनका लागि सम्पर्क प्रयास गर्दा उनीसँग फोन सम्पर्क हुन सकेन।



प्रतिक्रिया