​दिल्लीमा लामिछानेलाई भव्य स्वागत : ५ दिने भ्रमणबाट रविले के ल्याउँदैछ नेपाललाई सन्देश?


काठमाडौ । जेठ १८ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली ५ दिने भारत भ्रमणमा छन् । लामिछानेको टोली ५ दिने औपचारिक भारत भ्रमण सकेर शुक्रबार(जेठ २२ गते) स्वदेश फर्कँदैछन ।

यतिबेला काठमाडौको सिंहदरबारदेखी- गाउँका वस्तीसम्म लामिछानेले दिल्लीको राजनीतिको केन्द्रभागमा पाएको ‘स्पेस’ कै बारेमा चर्चा चलिरहेको छ । लामिछानेलाई भ्रमणको क्रममा जुन `स्पेस´ पाए त्यसले नेपालको वर्तमान राजनीतिक शक्ति सन्तुलन र नयाँ सरकारप्रतिको दिल्लीको दृष्टिकोणलाई प्रस्ट पारेको छ ।

५ दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका रविले नेपालका लागि के सन्देश ल्याउँदैछन् त? यसलाई मुख्यतः तीनवटा कोणबाट हेर्न सकिन्छ:

​१. प्रधानमन्त्री बालेनको ‘इन्कार’ र रविको ‘इन्ट्री’

​कूटनीतिक वृत्तमा यो भ्रमणको समय र आमन्त्रणको प्रकृति आफैँमा रोचक छ। निर्वाचनपछि नयाँ दिल्लीले शुरुमा प्रधानमन्त्री बालेन्द्र शाहलाई दिल्ली उतार्ने कसरत गरेको थियो। तर, शाहले ‘एक सय दिनसम्म देशबाहिर भ्रमण नगर्ने र आन्तरिक सुधारमा केन्द्रित हुने’ आफ्नो स्पष्ट अडान कायम राखेपछि, भारतीय संस्थापन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो कूटनीतिक संवादको माध्यम रास्वपा सभापति रवि लामिछानेलाई बनायो ।
​विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेको भव्य स्वागतदेखि भाजपा मुख्यालयमा लामिछानेका लागि गरिएको विशेष ब्रिफिङले के देखाउँछ भने— दिल्ली अब नेपालका पुराना स्थापित तीन दल (कांग्रेस, एमाले, माओवादी) को सिन्डिकेट पूर्ण रूपमा भत्किएको सत्य स्वीकार गर्दै वर्तमान बालेन शाह नेतृत्वको सरकारसँग दीर्घकालीन ‘इंगेजमेन्ट’ गर्न चाहन्छ।

​२. अमित शाह र मोदीको प्राथमिकता : ‘सुरक्षा र स्थिरता’

​भारतीय राजनीतिको ‘चाणक्य’ मानिने गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामिछानेको भेटवार्ता यो भ्रमणको सबैभन्दा शक्तिशाली पक्ष बन्यो। विगत सात वर्षदेखि गृहमन्त्री रहेका र विदेशी नेताहरूलाई विरलै समय दिने अमित शाहले लामिछानेलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै रास्वपाको जितलाई ‘ऐतिहासिक एवं अभूतपूर्व’ भन्नु सामान्य घटना होइन। शाह र लामिछानेबीच सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणका विषयमा गहन छलफल हुनुले भारतले नेपालको यो नयाँ राजनीतिक उदयलाई एक ‘भरपर्दो सुरक्षा साझेदार’का रूपमा परीक्षण गरिरहेको पुष्टि गर्छ।

​त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न देखाएको उत्सुकताले दिल्लीको प्राथमिकता पूर्ण रूपमा बदलिएको स्पष्ट पार्छ। रविले दिल्लीबाट ल्याउँदै गरेको दोस्रो सन्देश हो— भारत अब नेपालमा अस्थिर र विभाजित गठबन्धन होइन, बालेन शाहको नेतृत्वमा रहेको बलियो जनमतसहितको स्थिर सरकारसँग व्यावसायिक रूपमा काम गर्न उत्साही छ।

​३. ‘रोटी-बेटी’ देखि ‘प्रविधि र प्रगति’ सम्मको नयाँ खाका

​भ्रमणका क्रममा रवि लामिछानेले भारतको प्रतिष्ठित अंग्रेजी दैनिक हिुस्तान टाइम्स मा लेखेको आलेखले नेपालको नयाँ परराष्ट्र नीतिको रूपरेखा प्रस्तुत गरेको छ। उनले नेपाल–भारत सम्बन्धलाई पुराना ऐतिहासिक पूर्वाग्रह र सुरक्षा चिन्ताको साँघुरो घेराबाट निकालेर ‘विकास कूटनीति’ र आर्थिक साझेदारीमा लैजानुपर्ने वकालत गरे। उनले प्रस्तुत गरेका एजेन्डाहरू निकै रणनीतिक छन्:

रक्सौल–काठमाडौं रेलमार्गको तीव्र कार्यान्वयन।
​काठमाडौं–बेंगलुरु डिजिटल करिडोरको स्थापना।
​नेपालमा आईआईटी (IIT) वा एम्स (AIIMS) जस्ता विश्वस्तरीय भारतीय प्राविधिक र स्वास्थ्य संस्थाहरूको विस्तार।

परम्परागत भावनात्मक नारालाई थाती राखेर ‘प्रविधि र प्रगति’को आधुनिक सम्बन्धमा जोड दिनु नै रविको यो भ्रमणको मुख्य उपलब्धि हो।

मोदीलाई नेपाल भ्रमणको निम्तो

भेटवार्ताको क्रममा​ रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्। यससँगै प्रधानमन्त्री बालेन शाहको सुशासनको एजेन्डा र रवि लामिछानेको कूटनीतिक परिपक्वता मिल्दा आगामी दिनमा नेपाल-भारत सम्बन्धले नयाँ उचाइ लिने सङ्केत मिलेको छ।