काठमाडौँ । ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ भन्दै नेपाली पत्रकारितामा तहल्का मच्चाएका चर्चित, ऊर्जाशील र आक्रामक पत्रकार ऋषि धमला यतिबेला गाउँ–गाउँमा विकास र समृद्धिको नयाँ क्रान्ति छेड्न व्यस्त छन् । पत्रकारिताको पर्दाभन्दा अलि फरक भूमिकामा देखिएका धमलाको नेतृत्वमा रहेको स्वतन्त्र नागरिक अभियान नेपाल यतिबेला देशका कुना–कुनामा पुगेर विकासको बिगुल फुकिरहेको छ ।

यसै क्रममा अभियानको टोली गुल्मीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छत्रकोट गाउँपालिका पुगेको छ । गाउँपालिकामा पुगेर अध्यक्ष धमला र उनको टोलीले स्थानीय प्रसिद्ध मन्दिरहरूको विशेष अवलोकन तथा दर्शन गरेको छ । ‘देशको विकास र समृद्धिको यात्रा अब शहरबाट मात्र होइन, गाउँबाट शुरु हुनुपर्छ,’ मन्दिर दर्शनपछि उत्साहजनक रूपमा धमलाले भने, ‘यो अभियान केवल राजनीतिक नारा होइन, गाउँ–गाउँमा पुगेर वास्तविक विकासको जग बसाल्ने महाअभियान हो ।’
गुल्मीलाई ‘टुरिजम हब’ बनाउने धमलाको बोल्ड योजना
सधैँ एक्सनमा विश्वास गर्ने पत्रकार धमलाले छत्रकोटमा निर्माण भएको १ हजार ८० मिटर लामो रोमाञ्चक जिपलाइनको समेत अनुभव लिए । जिपलाइन चढेपछि निकै उत्साहित देखिएका धमलाले गुल्मीको पर्यटन विकासका लागि आफ्नो एउटा बृहत् र ठोस प्रस्ताव अघि सारेका छन् ।


धमलाका अनुसार अब गुल्मीलाई नेपालकै प्रमुख ‘टुरिजम हब’का रूपमा विकास गरिनुपर्छ । यसका लागि उनले रुरु गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र छत्रकोट गाउँपालिका बीच त्रिपक्षीय समन्वय र सहकार्य गराएर एउटा बृहत् पर्यटन सर्किट निर्माण गर्ने घोषणा गरे । नेपालकै प्रसिद्ध चार धाममध्येको एक पवित्र ‘रुरुक्षेत्र’ (रिडी) मा लाखौँ धार्मिक पर्यटक भित्र्याउनका लागि अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै पहल गने धमलाले उल्लेख गरे ।

योगी आदित्यनाथलाई रुरु क्षेत्र ल्याउने धमलाको वचन
नेपाल र भारतका उच्च राजनीतिक वृत्तमा बलियो सम्बन्ध र पहुँच भएका पत्रकार ऋषि धमलाले गुल्मीवासीमाझ एउटा ठूलो र ऐतिहासिक प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भारतको उत्तर प्रदेशका शक्तिशाली मुख्यमन्त्री योगी आदित्यनाथलाई रुरु क्षेत्रको भ्रमणमा ल्याउन आफूले व्यक्तिगत र अभियानको तर्फबाट विशेष पहल गर्ने वचन दिएका छन् । योगी आदित्यनाथ रुरु क्षेत्र आएमा यस क्षेत्रको धार्मिक पर्यटनले अन्तर्राष्ट्रिय रूपमा ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।
विकास र समृद्धिमा स्थानीय सरकार सबल हुनुपर्छ– धमला
गुल्मीका विभिन्न गाउँपालिकाहरूमा अभियानद्वारा आयोजित बृहत् बहस तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले स्थानीय सरकारहरू जनताको वास्तविक साथी बन्नुपर्नेमा जोड दिए । उनले विकास र समृद्धिको सपना साकार पार्न स्थानीय तहहरू वित्तीय र प्रशासनिक रूपमा सबल, सक्षम र पारदर्शी हुनुपर्ने धारणा राखे ।
बहसका क्रममा स्वतन्त्र नागरिक अभियान नेपालका तर्फबाट स्थानीय सरकाका नेतृत्वलाई झक्झक्याउँदै धमलाले भने— ‘जनताले गाउँमै सिंहदरबार आएको आभास पाउनुपर्छ । त्यसका लागि स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क गरिनुपर्छ ।’

धमलाको यो आक्रामक र विकासमुखी दौडाहाले गुल्मीबासीले निकै राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया