काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूका पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।
रास्वपाले सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकेको जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने भनाई राखेपछि विपक्षीहरूले निरन्तर रुपमा संसद्मा प्रश्न उठाइरहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा नियमावली पारित गर्ने लगायतका विषयमा सभामुखले खलेको भूमिकामाथि पनि विपक्षीहरूले प्रश्न गरिरहेका छन् । यही कारण बैठकहरू सहज रुपमा सञ्चालन हुन सकेका छैनन् । पाँच दिन पछि सोमबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नु अघि नै सहमति खोज्नका लागि संसद्को ठूलो दलको हैसियतमा सभापति लामिछानेले बैठक राखेका हुन् ।



प्रतिक्रिया