देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघमा नयाँ नेतृत्व


काठमाडौं । देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघले नयाँ नेतृत्व चयन गरेको छ । २०१० माघ १० गते स्थापना भएको संघले ३५औँ र ३६औँ साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्दै कार्यकारिणी समिति पुनर्गठन गरेको हो ।

देशभरका विभिन्न ठाउँलाई प्रतिनिधित्व गरी संघको प्रतिनिधि सभामा सहभागी भएका मध्येबाट १२ जना सर्वसम्मत निर्वाचित भएका छन् । थप दुई जना मनोनित सदस्य, एक–एक जना सभापति र निवर्तमान सभापति, एक जना न्हेसः नायः गरी १७ सदस्यीय कार्यकारिणी समिति गठन गर्ने व्यवस्था रहेको छ ।


संघको विधान बमोजिम प्रतिनिधि सभाबाट निर्वाचित मध्येबाट चार वर्षे कार्यकालका लागि पदाधिकारी तथा सदस्य छनोट गर्छन् । उपसभापति, सचिव, कोषाध्यक्ष, दुई जना सहायक सचिव, एक जना सहायक कोषाध्यक्ष तथा अन्य सदस्यहरूको चयन प्रक्रिया कार्यकारिणी सदस्यहरूबीच गोप्य मतदानको आधारले गर्ने प्रावधान रहेको छ । सभापतिको कार्यावधि २ वर्षको लागि हुन्छ ।

न्हेसः नायः संघको कार्यसमितिमा परम्परागत शैलीको वंशानुगत आधार (बाजेपछि बुवा र बुवा पछि छोरा र नाति)मा सदाबहार पदेन हुन्छन् । यसपटक सभापति पदको निर्वाचन भने प्राविधिक कारणले रद्द भएको निर्वाचन समितिले जनाएको छ ।
संघले देशभरका मानन्धर समुदायका विभिन्न खलः, पुचः, गुठी, टोल तथा संस्थाबाट प्रतिनिधित्व सुनिश्चित गर्दै आएको छ । पूर्वी नेपालको धरानदेखि पश्चिमको नेपालगञ्जसम्म सघन रुपमा बसोबास गर्दैआएका मानन्धरहरुलाई सम्मिलित गराएर शाखा बिस्तार गरेको छ ।  


काठमाडौंको मरूहिटी बैंक्वेटमा सम्पन्न भएको महाधिवेशनमा थँहिटी टोलबाट प्रतिनिधित्व गरेका ८८ वर्षिया नारायणदास मानन्धरले अध्यक्षता गरेका थिए । कार्यक्रममा संघका पदाधिकारीहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


डा. पञ्चकुमारी मानन्धरको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रूपमा चयन गरेका १२ जना कार्यकारिणी सदस्यहरु तपसिल छन् :
१) सन्देश मानन्धर (दैसाः टोल मानन्धर समाज, काठमाडौं) ।
२) कृष्णकाजी मानन्धर (सिवा साय्मि खलः मध्यपुर थिमि) ।
३) राजेन्द्र मानन्धर (मच्छेगाउँ मानन्धर गुठी, चन्द्रगिरि नगरपालिका) ।
४) गजेन्द्रप्रसाद मानन्धर (धालासिक्व मानन्धर सनाःगु खलः, काठमाडौं) ।
५) बुद्ध मानन्धर (फर्पिङ मानन्धर गुठी, दक्षिणकाली नगरपालिका) ।
६) तुलसीकाजी मानन्धर (साःक्वलां शिलाचःह्रे गुठी, भक्तपुर) ।
७) विश्वराम मानन्धर (जापाली गुठी, बनेपा) ।
८) राजन मानन्धर (पाक्व पुखूद्यां सनाः खलः, काठमाडौं) ।
९) जगदीश मानन्धर (भिंद्यः गुठी कालिमाटी, काठमाडौं) ।
१०) कृष्णबहादुर मानन्धर (मानन्धर सानाःगू खलः न्हूसाः, काठमाडौं) ।
११) रमेश मानन्धर (श्रीपञ्चमी मानन्धर गुठी, कीर्तिपुर) ।
१२) रोशन मानन्धर ( थँहिटी मानन्धर गुठी, काठमाडौं) ।

Skip This

Omoda E5 Pro