‘विद्युत् बक्यौता उठाउन मन्त्रालयको निर्देशन कुर्नु पर्दैन’- मन्त्री श्रेष्ठ


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अल्झिएको विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले आफ्नो दैनिक कार्यसूचीमै राखेर प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । ठूलो रकम बक्यौता रहँदा प्राधिकरणको वित्तीय अवस्थामा समेत असर पर्ने भन्दै उनले चाँडो असुलीतर्फ ध्यान दिन सुझाएका हुन् ।

प्राधिकरण सञ्चालक समिति र उपकार्यकारी निर्देशकहरूसँगको छुट्टाछुट्टै बैठकमा मन्त्री श्रेष्ठले बक्यौताको आकार ठूलो भइसकेकाले यसलाई तत्काल फर्स्यौट गर्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले बक्यौता असुलीका लागि प्राधिकरणले मन्त्रालयको निर्देशन कुर्नु नपर्ने स्पष्ट पारे । विगतमा यस विषयमा पर्याप्त अध्ययन, छानबिन र निर्णयहरू भइसकेकाले अब थप निर्णयको आवश्यकता नरहेको उनको भनाइ छ ।

कानुनी प्रक्रियामा रहेका बाहेक अन्य कुनै पनि क्षेत्रको बक्यौता उठाउन प्राधिकरण अल्मलिन नहुने उनले स्पष्ट पारे ।

महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार हाल नेपाल विद्युत् प्राधिकरणको कुल विद्युत् महसुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

Skip This

Omoda E5 Pro