काठमाडौँ । सरकारले एकैपटक १० जना सहसचिव तथा सचिवहरूको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा प्रशासनिक क्षेत्रको उच्च तहमा यो फेरबदल गरिएको हो ।
मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयको कमान्ड सम्हालेका सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री कार्यालयमा ल्याएर अतिरिक्त समूहमा राखिएको छ ।
कसको सरुवा कहाँ ?
नेपाल ट्रस्टको कार्यालयमा कार्यरत प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा पठाइएको छ । जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ ।
यसैगरी, अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवका रूपमा जिम्मेवारी दिएर पठाइएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेका कारण उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । नियमित र कार्यसम्पादन सुदृढीकरणका लागि यो प्रशासनिक हेरफेर गरिएको सरकारले जनाएको छ ।



प्रतिक्रिया