वीरगन्जका मेयर सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेयर सिंहले अर्काकी छोरीलाई आफ्नै छोरी दाबी गर्दै झूटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको ठहर गर्दै अख्तियारले सोमबार मुद्दा चलाएको हो ।

अख्तियारले मेयर सिंहलाई झूटो विवरण खडा गरी नागरिकता दिलाउने कार्यमा मतियारको मुख्य कसुरदार सरह सजाय हुनुपर्ने मागदाबी गरेको छ ।

मेयर सिंहबाहेक यो प्रकरणमा नागरिकता लिनेकी आमा रिता भट्टराई, वीरगन्ज महानगरपालिकाका तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई समेत प्रतिवादी बनाइएको छ ।

यसैगरी, सो नागरिकता प्रकरणमा गलत प्रतिवेदन तयार पारेर सहयोग पुर्‍याएको अभियोगमा गृह मन्त्रालयका कर्मचारीद्वय पुष्कर राना र परशुराम पोखरेललाई पनि कसुरदार कायम गरिएको छ । पदीय दुरुपयोग गरी गैर-नागरिकलाई झुठो विवरणकै भरमा नेपाली नागरिकता दिलाउन स्थलगत सर्जमिनदेखि निर्णय प्रक्रियासम्म संलग्न कर्मचारी र बिचौलियालाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, वीरगन्ज महानगरप्रमुख सिंह निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेसँगै सिंह निलम्बनमा परेका हुन् ।

Skip This

Omoda E5 Pro