काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्न तोकिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार आज राति १२ बजेसम्म मात्रै अनलाइन प्रणाली खुला रहनेछ।
महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले अन्तिम समयमा प्राविधिक चाप बढ्न सक्ने भएकाले समयमै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अपिल गरेका छन्।
उनले कांग्रेसको आधिकारिक वेबसाइटमार्फत प्रत्येक सदस्यले मोबाइलबाटै सहजै फाराम भर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै प्राविधिक कठिनाई भएमा वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिन आग्रह गरेका छन्।
कांग्रेसको विवरण अनुसार अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २७ गते बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले आफ्नो डिजिटल पहिचान प्राप्त गरिसकेका छन्।
यसका अतिरिक्त थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम बुझाएर प्रक्रिया अघि बढाइसकेकाले अहिलेसम्म कुल संख्या ६ लाख नजिक पुगेको छ। कांग्रेसले संगठनलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ पहिलोपटक यो अनलाइन अभियान सञ्चालन गरेको हो।



प्रतिक्रिया