काठमाडौं, असार ३ । नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका नयाँ नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने आकार, रङ र डिजाइन भने अघिल्लो संस्करणकै अनुरूप राखिएको छ।
राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका संकेत नम्बर भएका नोटहरू बजारमा पठाइएको हो। नेपाली नोट छपाइ प्रणालीअनुसार प्रत्येक संकेत अक्षरअन्तर्गत करिब १० लाख थान नोट उत्पादन गरिने भएकाले यसपटक करिब ३० लाख थान पाँच सय रुपैयाँका नयाँ नोट प्रचलनमा आएका छन्।
यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते २०२० सिरिजका पाँच सय दरका २ लाख ४८ हजार थान नोट जारी गरेको थियो। नयाँ संस्करण भने ठूलो संख्यामा बजारमा प्रवेश गरेको हो।
यस्ता छन् नोटका विशेष सुरक्षा विशेषता
नोटको अगाडिको भागमा बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र राखिएको छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ। तल्लो भागमा ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ।
दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिले स्पर्शबाटै नोटको दर छुट्याउन सकून् भन्ने उद्देश्यले पानी छापको बायाँपट्टि दुईवटा विशेष कालो थोप्ला राखिएका छन्।
नोटमा थप सुरक्षा प्रदान गर्न सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ, जुन सीधा हेर्दा सुनौलो र कोण परिवर्तन गरी हेर्दा हरियो देखिने विशेषता रहेको छ। त्यसैगरी ३.५ मिलिमिटर चौडा सुरक्षण धागो प्रयोग गरिएको छ, जसले सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखाउँछ।
नोटको पछाडिको भागमा नेपालको दुर्लभ वन्यजन्तु पाटेबाघको चित्र राखिएको छ। त्यसको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ अंकित गरिएको छ भने तल्लो भागमा ‘RUPEES FIVE HUNDRED’ र ‘2025 AD’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकले नयाँ नोटको प्रयोग तथा सुरक्षा चिन्हबारे जानकारी लिएर मात्र कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिक्रिया